दफा ११ख
शङ्का लागेको व्यक्तिको खानतलासी लिने

(१) यस ऐन विपरीत कुनै व्यक्तिसँग कुनै
विदेशी विनिमय छ भनी शङ्का गर्नुपर्ने पर्याप्त कारण र आधार भएमा अनुसन्धान अधिकारीको
आदेशले कम्तीमा राजपत्रअनङ्कित द्वितीय श्रेणीको कर्मचारीबाट त्यस्तो व्यक्तिको जिउको
खानतलासी लिन सकिनेछ ।

तर कुनै स्वास्नीमानिसको खानतलासी लिँदा स्वास्नीमानिसद्वारा मात्र खानतलासी
लिन लगाउनु पर्नेछ ।
(२) शङ्का लागेको व्यक्तिको खानतलासी लिँदा यस ऐन विपरीत कुनै विदेशी
विनिमय वा सोसँग सम्बन्धित कुनै लिखत फेला परेमा त्यस्तो विदेशी विनिमय वा लिखत
कब्जामा लिन सकिनेछ ।
(३) यस दफा बमोजिम खानतलासी लिँदा कम्तीमा दुईजना स्थानीय व्यक्तिहरू
साक्षी राखी निजहरूको उपस्थितिमा खानतलासी लिनुपर्नेछ । खानतलासी लिँदा फेला परेका
विदेशी विनिमय वा सोसँग सम्बन्धित लिखतको विवरण तयार गरी त्यसमा उपस्थित
साक्षीहरूको समेत सहीछाप गराउनु पर्नेछ ।